काठमाडौं । कात्तिक कृष्ण तृतीय अर्थात् आज धनतेरसका दिन नेपाल राष्ट्र बैंकले करिब ६ किलोग्राम सुनका असर्फी बिक्री वितरण गरेको छ । विहान ११ बजेदेखि बिक्री थालेको राष्ट्र बैंकले अपराहन्न ४ बजेसम्म सबै स्टक क्लियर भएको जनाएको हो ।
उपभोक्ताको माग बढ्दा उपलब्ध असर्फीले नपुगेको राष्ट्र बैंकले जनाएको छ । गत वर्ष पर्याप्त सुन हुँदा केन्द्रीय बैंकले ५–६ दिनसम्मै असर्फी बेचको थियो । तर यसपटक मूल्यसँगै ट्याक्स बढ्दा खासै सुनको आयात भएको छैन । यस्तोमा उपलब्ध ६ केजी सुनलाई पगालेर सिक्का बनाउला माग अनुसार वितरण आपुर्ति दिन नसकिएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, टक्सार महासाखाका प्रमुख सम्झना ढकालले बताइन् ।
यसपटक सुनको अभावकाबीच एकदिन मात्र त्यो पनि २.५ ग्रामका दरले मत्र सिक्का उपलब्ध गराइएको उनले जानकारी दिइन् । अघिल्ला वर्षहरुमा चाँदीका सिक्का जस्तै ५ ग्राम, १० ग्रामका फरकफरक सिक्कामा सुनको असर्फी उपलब्ध गराईएको थियो ।
यसपटक सुनको सीमितताका बीच बिक्री गरिएको सुनले माग धान्न नसक्दा विहानैदेखि लाइनमा बसेका ग्राहकहरु समेत रित्तो हात फर्किन बाध्य भएको टक्सार महासाखाले जनाएको छ ।
यसपटक राष्ट्र बैंकले एक व्यक्ति एक सिक्का (२.५ ग्राम) सुनको असर्फी उपलब्ध गराएको थियो । बजार मूल्य अनुसार एक सिक्काको मूल्य ३६ हजार ११५ रुपैयाँमा पर्नेमा व्यवस्थापन खर्चसहित ३६ हजार ८६५ रुपैयाँमा बिक्री वितरण गरिएको महासाखाले जनाएको छ ।


