काठमाडौं । नेपाल नागरिक उड्यान प्राधिकरणले जहाजमा बम राखेको अफवाह फैलाउनेलाई अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन भारत सरकारलाई पत्र पठाएको छ । केहीँ दिन अघि भारतको निजी वायुसेवा भिस्तारा एयरलाइन्समा बम राखिएको गलत हल्ला चलाएकोमा पछिल्लो पटक सोमबार फेरि अर्को भारतीय एयर इण्डियामा बम राखिएको हल्ला चलाएपछि यसको छानविन गर्न र दोषिलाई कारबाही गर्न प्राधिकरणले औपचारिक रुपमा भारत सरकारलाई पत्र लेखेको हो ।
हल्ला पछि जहाज सर्च गर्दा कुनै प्रमाण फेला पार्न नसकेको बताउँदै प्राधिकरणले यसको सुरक्षाको जिम्मा भारतकै भएकाले अध्ययन गरी दोषिउपर कारबाही गर्न प्राधिकरणले भनेको हो । जहाजमा बम राखिएको छ भनेर गलत सूचना दिनेलाई कानूनी दायरामा ल्याउन आग्रह गर्दै प्राधिकरणले कूटनीतिक तहबाट भारत सरकारलाई सोमबार पत्राचार गरेको हो ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार भारतीय जहाज वायुसेवा भिस्तारामा र एयर इण्डियामा बम राखिएको गलत सूचना आएलगत्तै प्राधिकरणले पहिलो पटक यसरी भारत सरकारलाई पत्राचार गरेको हो ।