काठमाडौँ, असार १० – नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको टोली ब्रिज–११ ले बेलायतमा आयोजित दी ब्रिज डिकेट कप को उपाधि हात पारेको छ। वील्सायरको डेभाइज क्रिकेट क्लब मैदानमा सम्पन्न दोस्रो मैत्रीपूर्ण खेलमा ब्रिज–११ ले घरेलु टोली डेभाइज क्रिकेट क्लबलाई १२७ रनले पराजित गर्दै उपाधि चुमेको हो। पहिला ब्याटिङ गरेको ब्रिज–११ का लागि म्यानी गुरुङले २६ बलमा ५१ रन, दिवश गिरीले ३७ बलमा ६२ रन र कप्तान सन्दीप लामिछानेले २४ बलमा आक्रामक ५४ रन जोड्दै टोलीलाई विशाल स्कोर बनाउन मद्दत गरे। ब्रिज–११ ले निर्धारित ओभरमा ३०७ रनको चुनौतीपूर्ण लक्ष्य तय गरेको थियो। बलिङतर्फ डेभाइज क्लबका जर्ज डनफोर्ड, क्यामरून ली र अल गवले समान रूपमा २–२ विकेट लिए। ३०८ रनको लक्ष्य पछ्याएको डेभाइजका लागि थमस एन्ड्र्युले शानदार १०१ रनको शतकिय पारी खेले तापनि अरू खेलाडीहरूले उल्लेखनीय साथ दिन नसक्दा टोली १२७ रनले पराजित भयो। लुक ह्याम्बलिनले १० रन जोडे। ब्रिज–११ का बलरमध्ये सन्दीपले १ विकेट लिन सफल भए भने मोसेसले २ विकेट र अमित, विकास, मार्क बर्टनले १–१ विकेट लिए। खेलपछि आयोजित पुरस्कार वितरण कार्यक्रममा ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीका सिइओ भुवन गिरीले कम्पनीको १० वर्षे यात्राको अवसरमा समाजप्रति उत्तरदायित्व स्वरूप यस्ता खेल आयोजना गर्न पाउँदा सन्तोष व्यक्त गरे।