+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अन्तर्राष्ट्रिय

हवाई हमला गर्नुअघि इरानले दिएको थियो सुचना

जनवाच
५ घण्टा अगाडी

 काठमाडौं – मध्यपूर्वमा चुलिँदो तनावबीच इरानले कतारस्थित अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा ‘अल उदीद बेस’माथि मिसाइल आक्रमण गर्नु अघि अमेरिका र कतारलाई पूर्वसूचना दिएको खुलासा भएको छ। यसले एकातर्फ गहिरिँदो द्वन्द्व संकेत गरे पनि अर्कोतर्फ इरानको रणनीतिक ‘सावधानी’को आभास दिएको छ।

द न्यूयोर्क टाइम्स र द गार्डियन जस्ता प्रतिष्ठित पत्रिकाले तीन जना इरानी अधिकारी तथा एक इजरायली स्रोतलाई उद्धृत गर्दै इरानले आक्रमणको पूर्वसूचना दिएको पुष्टि गरेका छन्।
इरानी अधिकारीहरूका अनुसार यस्तो सूचना मानवीय क्षति रोक्न र युद्ध चर्किन नदिन दिइएको हो। सन् २०२० मा अमेरिकी ड्रोन आक्रमणमा शीर्ष इरानी जनरल कासिम सुलेमानीको हत्या भएको घटनापछि इरानले इराकस्थित अमेरिकी अड्डामा आक्रमण गर्दा पनि यस्तै रणनीति अपनाएको थियो।

सूचनाको आधारमा कतारले आक्रमण हुनुअघि नै आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो भने युएईले पनि त्यसको केही समयपछि हवाई मार्ग बन्द ग–यो। यसले दोहा र दुबईबाट हुने दर्जनौं उडानहरूमा प्रभाव पारेको थियो।

अमेरिकी रक्षा मन्त्रालय स्रोतका अनुसार इरानले मध्यम दूरीका ब्यालिस्टिक मिसाइल प्रहार गर्नुअघि कतारी र अमेरिकी अधिकारीलाई जानकारी दिएको थियो। अमेरिकी पक्षमा कुनै क्षति नभएको रिपोर्ट आएको छ, जसले यो आक्रमण ‘बदला होइन, सन्देश’ दिने प्रयास भएको विश्लेषण गरिएको छ।

इरानमाथि इजरायलले गरिरहेका आक्रमणहरूको पृष्ठभूमिमा इरानी मिसाइल आक्रमण भएको हो। इजरायलले सोमबार तेहरानमा ठूलो हवाइ आक्रमण गरेको पुष्टि गर्दै अझै थप हमलाको चेतावनी दिएको छ। यस्तो अवस्थामा अमेरिका अब अप्रत्यक्ष रूपमा मात्र होइन, प्रत्यक्ष रूपमा द्वन्द्वमा मुछिने चिन्ता विश्वभर व्यक्त हुन थालेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ