काभा महिला भलिबल क्लब च्याम्पियनसिप विजेता नेपाल पुलिस क्लबका सदस्यहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ। नक्शालमा मंगलबार आयोजित कार्यक्रममा शिखर इन्स्योरेन्स कम्पनीले च्याम्पियन पुलिस क्लबका प्रत्येक सदस्यलाई सम्मान गरेको हो। खेलाडी, प्रशिक्षक, र म्यानेजरलाई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो, साथै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई थप ५० हजार रुपैयाँबाट पुरस्कृत गरिएको थियो।
नेपाल पुलिस क्लबकी उषा भण्डारी मेस्ट भ्यालुएबल प्लेयर र उत्कृष्ट आउटसाइट हिटर घोषित भएकी थिइन्। उनलाई यी दुई विधामा उत्कृष्ट ठहर गर्दै कुल एक लाख ५० हजार दुई रुपैयाँ पुरस्कार दिइएको थियो। त्यस्तै, सुमित्रा रेग्मीलाई उत्कृष्ट मिडल ब्लकर र शान्तिकला तामाङलाई उत्कृष्ट लिबेरो घोषित गर्दै दुवैलाई जनही एक लाख दुई रुपैयाँ नगद पुरस्कार प्रदान गरियो। प्रशिक्षक रूपेश विष्ट र सहायक प्रशिक्षक सुशीला थापासँगै अफिसियलहरूलाई पनि जनही ५० हजार रुपैयाँसहित सम्मान गरियो।
पूर्वमन्त्री तथा नेकपा समाजवादी नेतृ रामकुमारी झाँक्री, शिखर इन्स्योरेन्सका अध्यक्ष गौरव अग्रवाल र सिइओ दीपप्रकाश पाण्डेले विजेताहरूलाई सम्मान गरेका थिए। नेपाल पुलिस क्लबले उज्बेकिस्तानको हुमो क्लबलाई ३–० को सेटमा पराजित गर्दै उपाधि जितेको थियो। प्रतियोगितामा उज्बेकिस्तान, श्रीलंका, माल्दिभ्स, र ताजकिस्तानका कुल ६ टोलीले प्रतिस्पर्धा गरेका थिए।
नेपाल पुलिसले माल्दिभ्समा सम्पन्न च्याम्पियनसिपमा अपराजित रहँदै उपाधि उचाल्न सफल भएको हो।