काठमाडौं, चैत ९, २०८१ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नीतिगत स्थायित्व नै देशको विकासको प्रमुख आधार भएको बताउनुभएको छ। काभ्रे–काठमाडौं उपत्यका सम्पर्क समिति विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विकासको गति तिव्र पार्न लोकतान्त्रिक शासन प्रणालीलाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले विकास र स्थायित्व एकसाथ अघि बढ्नुपर्ने भन्दै हालको सरकार स्थायित्वसहितको नीति निर्माणका लागि केन्द्रित रहेको उल्लेख गर्नुभयो। हालै पूर्वराजाका गतिविधिहरूले चर्चा पाइरहेका बेला पूर्वमन्त्री कार्कीले लोकतन्त्रको भविष्य सुरक्षित रहेको बताउनुभयो। “लोकतन्त्र र गणतन्त्रको जग बलियो भए मात्र देश समृद्धि तर्फ अघि बढ्छ,” उहाँको भनाइ छ। साथै, संचार, शिक्षा, र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार भएको उल्लेख गर्दै उहाँले गाउँको मुहार फेरिए पनि जनसंख्या स्थायित्वको चुनौती कायमै रहेको बताउनुभयो। सोही अवसरमा काभ्रे–काठमाडौं उपत्यका सम्पर्क समिति विस्तार गर्दै बद्रिराज तिमल्सिनाको अध्यक्षतामा ४६ सदस्यीय नयाँ समिति चयन गरिएको छ। पार्टीको संगठन सशक्त बनाउन यस समितिले महत्वपूर्ण भूमिका खेल्ने नेताहरूले बताएका छन्। देशको आर्थिक तथा सामाजिक समृद्धिका लागि नीतिगत स्थायित्व, लोकतान्त्रिक अभ्यास र योजनाबद्ध विकास अपरिहार्य रहेको कार्कीको भनाइ छ। उहाँले सम्पूर्ण राजनीतिक शक्तिहरू मिलेर स्थायित्वका लागि काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।