काठमाडौं, ७ चैत । नेपाल र मोल्डोभाबीचको कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग गणतन्त्र मोल्डोभाका उपप्रधान तथा परराष्ट्र मन्त्री मिहेल पपसोईबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ ।
भेटका क्रममा मन्त्री भण्डारीले सन् १९९३ मा स्थापनाभएको नेपाल–मोल्डोभा कूटनीतिक सम्बन्ध पछिल्लो तीन दशकदेखि मैत्रीपूर्ण रूपमा अगाडि बढ्दै आएको स्मरण गर्दै, यो पहिलो उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे । उनले आपसी साझेदारीमार्फत व्यापार, लगानी, पर्यटन, कृषि, सूचना प्रविधि तथा शिक्षाका क्षेत्रमा सहकार्य गर्न सकिने उल्लेख गरे ।
नेपाल र मोल्डोभाबीच हालसम्म व्यापारिक सम्बन्ध सीमित रहेको स्वीकार्दै मन्त्री भण्डारीले दुवै मुलुकबीच व्यापार प्रवद्र्धन तथा लगानीको वातावरण सहज बनाउँदै महामारीपछिको आर्थिक पुनरुत्थानमा सहकार्य आवश्यक रहेको बताए । नेपालले कृषि उत्पादन, हस्तकला सामग्री, तयारी पोशाकलगायतका उच्च गुणस्तरीय वस्तु निर्यात गर्ने सम्भावना रहेको र मोल्डोभासँग सहकार्यका लागि उत्साहित रहेको उनले स्पष्ट पारे ।
उपप्रधानमन्त्री पपसोईले नेपाल र मोल्डोभाबीच जलवायु परिवर्तन, कृषि औद्योगिकीकरण, प्रविधि विकास तथा सांस्कृतिक र शैक्षिक आदान–प्रदानमा सहकार्यको प्रशस्त सम्भावना रहेको बताए । साथै, नेपाली नागरिकलाई रोजगारीका अवसर प्रदान गर्ने सम्भावनाबारे थप छलफल गर्न सकिने उनको भनाइ थियो ।
भेटघाटमा दुवै नेताले आपसी व्यापार तथा लगानी प्रवद्र्धनका लागि सम्बन्धित मन्त्रालयबीच सहकार्यलाई अझ बलियो बनाउने प्रतिबद्धता जनाएका छन् ।
लेखकको बारेमा

प्रतिक्रिया