काठमाडौं – हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रारम्भिक परिणामले नेकपा माओवादी केन्द्रलाई उत्साहित बनाएको छ। प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा एमाले निकट अखिल (अनेरास्ववियु) का बीचमा माओवादी निकट अखिल (क्रान्तिकारी) ले उल्लेखनीय प्रभाव देखाएको छ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन परिणामप्रति उत्साह व्यक्त गर्दै यसलाई भ्रष्टाचार र बेथितिविरुद्धको अभियानप्रति युवा पुस्ताले देखाएको समर्थनका रूपमा लिएको बताएका छन्।
“देशभर स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा अखिल (क्रान्तिकारी) को पक्षमा देखिएको जनलहर निकै उत्साहजनक छ। कतिपय क्याम्पसमा त सत्ता गठबन्धनका उम्मेदवारलाई समेत पराजित गर्दै हाम्रो संगठनले विजय हासिल गरेको छ,” प्रचण्डले भने।
उनले विजयी भएका सबै विद्यार्थीहरूलाई बधाई दिँदै सचेत र परिवर्तनशील युवा पुस्ताले माओवादीको मार्गलाई स्वीकार गरेको उल्लेख गरे।