काठमाडौं, चैत ३ – विष्णुमती नदीमा फेला परेको ऐतिहासिक मूर्ति पुनःस्थापना गर्न पुरातत्व विभागले अध्ययन प्रक्रिया अघि बढाएको छ। स्थानीय समुदाय र सम्पदा अभियन्ताहरूले उक्त मूर्ति भीममुक्तेश्वर मन्दिरबाट हराएको कामदेव (छत्रचण्डेश्वर, लकुलिस) भएको दाबी गरेपछि यसको सत्यता प्रमाणित गर्ने प्रक्रिया सुरु भएको हो।
शनिबार महानगर प्रहरी बलको कार्यालयमा आयोजित सरोकारवालाहरूको बैठकमा पुरातत्व विभाग, प्रहरी प्रशासन, सम्पदा विज्ञ तथा स्थानीय प्रतिनिधिहरू सहभागी भए। बैठकमा मूर्तिको वास्तविक पहिचान र पुनःस्थापनाका लागि प्रमाण जुटाउने सहमति भएको छ।
काठमाडौँ महानगरपालिकाका सम्पदा सल्लाहकार यादवलाल कायस्थले उक्त मूर्ति कालीमाटी पुल नजिकैको भीममुक्तेश्वर मन्दिरबाट २०७८ साल चैत २४ गते हराएको पुष्टि गर्दै प्रहरीमा त्यसबेला निवेदन समेत दिएको बताए। कालीमाटी प्रहरी वृत्तका प्रहरी वरिष्ठ नायब निरीक्षक लेखबहादुर धागा मगरले समेत मूर्ति हराएको घटनाको पुष्टि गरे।
मूर्ति फेला परेपछि यसलाई पुनःस्थापनाका लागि अध्ययन आवश्यक रहेको भन्दै पुरातत्व विभागले प्रमाण संकलन गर्ने निर्णय गरेको छ। अध्ययनपछि मूर्ति मन्दिरकै हो भन्ने निष्कर्ष आएमा पुनःस्थापनाको प्रक्रिया अघि बढाइनेछ।
महानगरपालिकाले सञ्चालन गरेको नदी सरसफाइ स्वर्णिम योजना अन्तर्गत फागुन २४ गते विष्णुमती नदीमा सफाइ गर्ने क्रममा डोजरले नदीभित्र गाडिएको अवस्थामा मूर्ति भेटिएको थियो। भेटिएको मूर्ति हाल महानगर प्रहरी बलको कार्यालयमा सुरक्षित राखिएको छ।