दलीय भागवण्डाका कारण मुलुकको प्रशासनिक क्षमता कमजोर बनेको भन्दै उनीहरूले सुशासन सुनिश्चित गर्न सरकार र राजनीतिक दलहरूलाई दबाब दिने ।
काठमाडौं । मुलुकमा व्याप्त भ्रष्टाचार, अनियमितता, दण्डहीनता र भागवण्डाले शासन प्रणालीलाई कमजोर बनाइरहेको भन्दै सुशासन प्रवर्द्धन गर्ने संघसंस्थाहरूले चिन्ता व्यक्त गरेका छन् ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल लगायत सुशासन र जवाफदेहिताका क्षेत्रमा सक्रिय संघसंस्थाहरूको भेलाले मुलुकको मूल समस्याका रूपमा यी विकृतिहरूलाई औंल्याउँदै सुधारका लागि सरोकारवालाहरूलाई ध्यानाकर्षण गराएको छ ।
संवैधानिक निकायहरूमा भागवण्डाका आधारमा नियुक्ति हुनु, अयोग्य व्यक्तिहरूलाई जिम्मेवारी दिनु, कानुन कार्यान्वयनमा ढिलाइ हुनु तथा पहुँचका आधारमा दण्डहीनता मौलाउनु मुख्य समस्या भएको उनीहरूको ठहर छ ।
संस्थाहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक संविधानका मूल्य, मान्यता र मर्मअनुसार राज्यका सबै निकायहरू जवाफदेही बन्नु अपरिहार्य छ ।’
त्यसैगरी, योग्यता र प्रतिस्पर्धाका आधारमा नियुक्ति सुनिश्चित गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने मागसमेत उठाइएको छ ।