सहरी विकास मन्त्रालयसँगको छलफलमा सहरी विकासमन्त्री प्रकाशमान सिंह, मन्त्रालयका सचिव र विभागीय प्रमुखहरू सहभागी थिए भने ऊर्जा मन्त्रालयको छलफलमा ऊर्जामन्त्री दीपक खड्का, सचिव र अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो ।
काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणमा ठूला र संघीय महत्त्वका आयोजना मात्रै समेट्नुपर्नेमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जोड दिएका छन् ।
सहरी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग भएको छुट्टाछुट्टै छलफलमा उनले संविधानअनुसार प्रदेश र स्थानीय तहका जिम्मेवारी छुट्टिएको भन्दै संघीय सरकारले आफ्नो भूमिकालाई ठूला परियोजनामै केन्द्रित गर्नुपर्ने बताए ।
अर्थमन्त्री पौडेलका अनुसार, स्थानीय तहलाई अधिकार हस्तान्तरण गर्दा मात्रै संघीयता बलियो बन्छ र संघले प्रदेश तथा स्थानीय तहका आयोजनाहरू आफ्नो क्षेत्राधिकारमा ल्याउनु अनुचित हुन्छ । उनले मन्त्रालयहरूलाई संघीय स्तरमै प्रभाव पार्ने आयोजनाहरू पहिचान गरी बजेट प्रस्ताव गर्न निर्देशन दिए।
त्यस्तै, नीतिगत सुधार आवश्यक रहेको बताउँदै उनले विकास योजनाहरूलाई प्रभावकारी बनाउन नीति निर्माणमार्फत थप क्षेत्र खुला गर्ने धारणा व्यक्त गरे । साथै, वर्तमान संसदबाट अबको सरकार अहिलेभन्दा बलियो बन्ने सम्भावना कम रहेको उल्लेख गर्दै, उनले देशको आवश्यकतासँग मेल खाने र जनताको चाहना सम्बोधन गर्ने बजेट ल्याइने प्रतिबद्धता व्यक्त गरे ।