+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

पशुपतिनाथमा महाशिवरात्रि पूर्वसन्ध्यामा भव्य प्रभातफेरी सम्पन्न

जनवाच
१ महिना अगाडी

काठमाडौं – महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसर भव्य प्रभातफेरीले गुञ्जायमान बन्यो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको नेतृत्वमा आयोजित प्रभातफेरीमा विभिन्न सुरक्षा निकायका सदस्य, धार्मिक गुरु, संस्कृत विद्याश्रमका विद्यार्थी, स्थानीय बासिन्दा र भक्तजनको उल्लेख्य सहभागिता रह्यो।

सोमबार बिहान पशुपति क्षेत्र विकास कोषको आयोजनामा भएको प्रभातफेरीमा राज्यमन्त्री अरुण चौधरी पनि सहभागी भएका थिए। प्रभातफेरी पशुपति मूलढोकाबाट सुरु भई पिंगलास्थान, गौशाला, जयबागेश्वरी हुँदै पुनः मूलढोकामा पुगेर समापन गरिएको थियो। प्रभातफेरीका क्रममा धार्मिक भजनकीर्तन गुन्जिनुका साथै सहभागीहरूले शिव भक्ति भाव प्रकट गरेका थिए।

प्रभातफेरीपछि मन्त्री पाण्डेले पशुपति क्षेत्रको निरीक्षण गर्दै महाशिवरात्रिमा आउने भक्तजनका लागि सहज दर्शनको व्यवस्था मिलाउन कोषका पदाधिकारीलाई निर्देशन दिए। सोमबार बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको घुइँचो लागेको देखिन्थ्यो। दर्शनका क्रममा भक्तजनलाई कुनै असुविधा नहोस् भनेर मन्त्री पाण्डे स्वयं मन्दिर परिक्रमा गरेर व्यवस्थापनको अवस्थाबारे जानकारी लिएका थिए।

यसैबीच, कोषले महाशिवरात्रिका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। फागुन १४ गते पर्ने यस विशेष पर्वका अवसरमा नेपाल तथा भारतलगायत विभिन्न देशका साधुसन्तहरूको आगमन जारी छ। उनीहरूका लागि खानेबस्ने सुविधासहित धुनी ताप्न आवश्यक सम्पूर्ण प्रबन्ध मिलाइएको छ। महाशिवरात्रिको भोलिपल्ट औँसीका दिनमा ती साधुसन्तहरूलाई दक्षिणासहित बिदा गरिने परम्परा रहेको छ।

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा विशेष मेला लाग्ने भएकाले भक्तजनको सुविधाका लागि व्यापक तयारी गरिएको कोषले जनाएको छ। सुरक्षा व्यवस्था कडा पारिएको छ भने दर्शन व्यवस्थापनलाई थप प्रभावकारी बनाउन विभिन्न उपाय अपनाइएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ