काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लैङ्गिक हिंसा र सेवा प्रवाहका विषयमा जनचेतना फैलाउन एक दिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। वडा नं. २१ को आयोजनामा सम्पन्न यस कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले हिंसा र यसको पहिचानका लागि कानुनी ज्ञानको महत्त्वमा जोड दिँदै जनप्रतिनिधि र कर्मचारीको समान चासो र लैङ्गिकमैत्री वातावरण आवश्यक रहेको बताइन्।
उपप्रमुख डंगोलले कार्यक्रममा भने, “हिंसा के हो, यसलाई बुझ्न कानुनी ज्ञान आवश्यक छ। मैले गरेको काम हिंसा हो कि वा मैले भोगेको अवस्था हिंसा हो कि भन्ने थाहा पाउन पनि कानुन जान्नु पर्छ।” उनले लैङ्गिक हिंसा न्यूनीकरणका लागि सञ्जाल र महानगरपालिकाको भूमिका महत्त्वपूर्ण रहेको बताए।
महानगरपालिकाले मेलमिलापकर्ताबाट निःशुल्क मेलमिलाप सेवा, कानुन सहजकर्ताबाट निःशुल्क कानुनी र प्रशासनिक सेवाहरू उपलब्ध गराएको जानकारी दिँदै उपप्रमुख डंगोलले भने, “विपन्न वर्गका लागि कानुनी सहायता उपलब्ध गराइएको छ, जसले सेवाग्राहीलाई निःशुल्क सेवा प्रदान गर्न मद्दत पुर्याउँछ।”
वडाध्यक्ष उदयचुडामणि बज्रचार्यले महिला सञ्जालको सक्रियता र स्थानीय विवाद समाधानमा योगदानको महत्त्वलाई औंल्याए। साथै, सञ्जालका संयोजक ज्ञानु डंगोल महर्जनले पनि अनौपचारिक मेलमिलापबाट गरिएका विवाद समाधानलाई दिगो र प्रभावकारी भएको बताइन्।
प्रशिक्षक गुजेश्वरी श्रेष्ठले सामाजिक अवस्था र भूमिकाको सही मूल्याङ्कन गर्न महत्त्वपूर्ण भएको बताइन् र परिस्थिति बुझ्न नसम्झिने अवस्थामा अनपेक्षित घटनाहरू हुन सक्ने चेतावनी दिइन्।
वडा सचिव मोक्षप्रसाद दुलाल (बासु) का अनुसार काठमाडौँ महानगरपालिकाले लैङ्गिक हिंसा न्यूनीकरणका लागि विभिन्न कानुनी प्रबन्ध र कार्यविधिहरू लागू गरेको छ, जसमा स्थानीय विवाद समाधानको लागि ऐन, निर्देशिका र कार्यविधिहरू समावेश छन्।
यस कार्यक्रममा काठमाडौँ महानगरपालिकाको कानुनी विभाग, न्यायिक समितिका सदस्य र विभिन्न स्थानीय निकायका प्रतिनिधिहरूले पनि भाग लिए।
