काठमाडौं । नेपालको एक मात्र अटो शो ‘नाडा अटो शो’को विकल्पमा अब क्षेत्रिय रुपमा पोखरामा ‘वाडा अटो शो आयोजना हुने भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष काठमाडौंमा राष्ट्रिय स्तरको अटो शोको आयोजना हुँदै आएको छ । तर, सोही अटो शोलाई क्षेत्रिय रुपमा पनि आयोजना गर्नेगरी पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले पोखरामा ‘वाडा अटो शोको तयारी गरेको हो ।
पहिलो पटक गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना गर्न लागिएको वाडा अटोका लागि छाता संगठन नाडाले सहयोग गर्ने जनाएको छ । तथापि, वाडा अटो शो कहिले गर्ने मिति भने घोषणा गरिएको छैन ।
यहीँ पुस २० गते नाडाले आफ्नो संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा) का नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई काठमाडौंमा स्वागत तथा सम्मान गर्दै वाडा अटो शोलाई सक्दो सहयोग गर्ने जनाएको छ ।
नाडाका अध्यक्ष करण चौधरीको उपस्थितिमा भएको छलफल कार्यक्रममा वाडाका नवनिर्वाचित अध्यक्ष दिपेन्द्र कोइरालाले पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्न लागिएकोमा नाडाको तर्फबाट आवश्यक सहयोगको लागि औपचारिक रुपमा आग्रह गरे ।
उक्त कार्यक्रममा अटो शोको सम्भाव्यता र मोडालिटिका सम्बन्धमा विस्तृत रुपमा छलफल गरिएको नाडाले जनाएको छ ।