काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले देशलाई पछ्यौटेपनबाट उन्नततातर्फ लैजान विभिन्न अध्यादेशमार्फत कानुनी र संरचनागत सुधारलाई तीव्रता दिइरहेको बताउएका छन् ।
आज बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले हालै जारी गरेका अध्यादेशहरूमा आमरूपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको र ती सुधारले देशलाई आर्थिक, सामाजिक, र संस्थागत सुधारतर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे ।
उहाँले भन्नुभयो, “हामीले ल्याएका अध्यादेशहरूबाट २९ वटा कानुनमा संशोधन गरिएको छ। यी अस्थायी कानुनलाई प्रतिस्थापन विधेयकमार्फत स्थायी बनाइ कार्यान्वयनमा ल्याइनेछ।”
जनशक्ति र लगानीका लागि वातावरण सृजना
बैठकमा प्रधानमन्त्री ओलीले युवाहरुलाई स्वदेशमै रोजगारी र व्यवसायका अवसर सिर्जना गर्न सरकार प्रयासरत रहेको बताउँदै, उद्योग–व्यवसाय सञ्चालनका लागि सहज वातावरण तयार पार्ने आफ्नो सरकारको अठोट पुनः दोहोर्याए । “हामीले काम गर्न चाहने युवालाई स्वदेशमै अवसर दिने वातावरण बनाउन चाहन्छौँ। जनताको सेवा प्रभावकारी बनाउँदै आर्थिक विकासलाई तीव्रता दिन यो आवश्यक छ,” उनले स्पष्ट गरे ।
संविधान, एकता र छिमेकी सम्बन्धका कुरा
प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता र स्वाधिनतालाई केन्द्रमा राखेर संविधान संशोधन र कूटनीतिक सम्बन्धलाई सुदृढ गर्दै लैजान सरकार दृढ रहेको बताउनुभयो। “छिमेकी मुलुकहरूसँग सन्तुलित, मित्रवत्, र पारस्परिक लाभका आधारमा सम्बन्ध सुदृढ गर्दै, तिनीहरूको विकासको लाभ नेपालले लिनेछ,” उनले भने ।
संविधानको परिधिभित्र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउँदै असहमति राख्ने पक्षलाई संवादमार्फत मूलधारको राजनीतिमा ल्याएको उल्लेख गर्दै उहाँले राष्ट्रिय सहमतिको माध्यमबाट दीर्घकालीन स्थायित्वको आधार निर्माण गरिएको बताए ।
असाधारण परिस्थितिमा असाधारण कामको आवश्यकता
“सरकारलाई कमजोर देखाउन विभिन्न भ्रम छरिएको छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी शिक्षा, स्वास्थ्य, कृषि, र रोजगारीजस्ता मुख्य क्षेत्रहरूमा ध्यान दिएर काम गरिरहेका छौँ। अहिलेको संयुक्त सरकार निर्वाचनसम्म टिक्छ, सरकार ढल्छ भन्ने प्रचारको कुनै आधार छैन।”
उहाँले हाल विश्वमा देखिएका आर्थिक र राजनीतिक चुनौतीहरूको सामना गर्न लोकतान्त्रिक अभ्यास र संवैधानिक प्रक्रियालाई सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
जलवायु र सगरमाथा संवाद
जलवायु परिवर्तनको प्रभावप्रति सचेत रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले वातावरणीय सुरक्षाको पक्षमा ठोस कदम चाल्न सरकार कटिबद्ध रहेको जानकारी दिनुभयो। उहाँले चाँडै नै नेपालमा “सगरमाथा संवाद” आयोजना गरी जलवायु परिवर्तनसँग सम्बन्धित मुद्दाहरूमा अन्तर्राष्ट्रिय बहस र सहकार्यलाई प्रवर्द्धन गर्ने तयारी भइरहेको बताए ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले जारी गरेका अध्यादेशहरूको आवश्यकता र महत्वबारे थप स्पष्टिकरण दिएका थिए ।
देश समृद्धिको बाटोमा अघि बढ्दैछ
बैठकमा प्रधानमन्त्रीले सरकारले सुशासन, आर्थिक सुधार, र जनताका आधारभूत आवश्यकता पूरा गर्ने अभियानमा संलग्न रहेको भन्दै सबै सांसदलाई तथ्य र तर्कका आधारमा जिम्मेवार ढंगले संसद्मा प्रस्तुत हुन निर्देशन दिए ।
“राष्ट्रिय राजनीति लोकतान्त्रिक मूलधारमा छ। अबको दिशा परिवर्तन र विकासतर्फको हो,” प्रधानमन्त्री ओलीले थपे ।