काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले यही माघ २१ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासन अर्थात् आईपीओ बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणको वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले १०० अंकित दरमा जारी पुँजी ६० करोड रुपियाँको ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्येबाट पहिलो चरणमा १० प्रतिशत अर्थात् १ लाख ८० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
यो आईपीओमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
घटीमा १० कित्ता र बढीमा १० हजार कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ ।
त्यस्तै, कम्पनीले दोस्रो चरणमा ५ प्रतिशत अर्थात् ९० हजार कित्ता शेयर सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात् ५४ हजार कित्ता शेयर कम्पनीका कर्मचारीका लागि छुट्याएर बाँकी रहेको १४ लाख ७६ हजार कित्ता सर्वसाधारका लागि निष्कासन गर्नेछ ।
केयर रेटिङ नेपालबाट कम्पनीले केयर–एनपी बीबी माइनस (डबल बी माइनस) इस्युअर रेटिङ पाएको छ । यसले कम्पनीको समयमै वित्तीय दायित्व भुक्तानीका सन्दर्भमा मध्यम स्तरको जोखिम रहेको बुझिन्छ ।
कम्पनीको आईपीओ निष्कासक तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले रहेको छ ।