काठमाडौं । चालु आर्थिक वर्षको कात्तिकसम्म आइपुग्दा वैदेशिक व्यापारतर्फ आयात र निर्यात दुबै बढेको छ । कात्तिक मसान्तसम्म ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँ बराबरको मालवस्तु आयात हुँदैगर्दा ५२ अर्ब ६७ करोड ७० लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।
अघिल्लो वर्ष यसै अवधिमा ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँको आयात हुँदैगर्दा ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँको निर्यात भएको थियो ।
तथापि, अघिल्लो वर्षको तुलनामा यो वर्ष ब्यापार घाटा भने केही घटेको छ । भन्सार विभागको रिपोर्ट अनुसार नेपालको वैदेशिक व्यापार घाटा ४ खर्ब ६० अर्ब ७१ करोड रुपियाँ पुगेको छ । अघिल्लो महिना असोजमा यस्तो व्यापार घाटा ३ खर्ब ५२ अर्ब ३७ करोड हाराहारी रहेको थियो । यो अघिल्लो वर्षको यसै अवधिमा रहेको घाटाको तुलनामा ०.२६ प्रतिशतले कम हो ।
समीक्षा अवधिमा आयात निर्यातको अनुपात ९०.७० ः ९ः३० रहेको छ । अर्थात् विभागका अनुसार ९१ रुपियाँ बराबरको मालवस्तु आयात हुँदैगर्दा यताबाट जम्मा ९ रुपियाँ बराबरको मात्र निर्यात हुन सकेको छ ।