काठमाडौँ, ३० वैशाख — नेपाली चलचित्र क्षेत्र अब आत्मनिर्भरता तर्फ उन्मुख हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपामा निर्माण हुन लागेको अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो ‘सिनेपा’ को शिलान्यास गर्दै नेपाली फिल्म उद्योगका लागि नयाँ अध्यायको सुरुवात भएको घोषणा गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक विशेष समारोहमा चलचित्र विकास बोर्डद्वारा स्टुडियो निर्माणको शुभारम्भ गरिएको हो। ४२ रोपनी जग्गामा बन्न लागेको यो स्टुडियो नेपालमै पहिलोपटक विश्वस्तरीय प्रविधि र पूर्वाधारसहितको फिल्म सिटीको प्रारम्भिक स्वरूप हुने दाबी गरिएको छ। छायाङ्कनका लागि विदेश धाउने बाध्यता अन्त्य गर्ने उद्देश्यले ल्याइएको ‘सिनेपा’ स्टुडियोमा इनडोर सेटअप, साउन्डप्रूफ हॉल, डिजिटल पोस्ट-प्रोडक्सन सिस्टम, भिएफएक्स सुविधा लगायत अत्याधुनिक प्रविधिहरू समावेश गरिने जनाइएको छ। नेपाली चलचित्र उद्योग स्थापना भएको ६ दशक बितिसक्दा पनि देशभित्र सुविधा सम्पन्न स्टुडियो नहुनु ठूलो विडम्बना भएको भन्दै निर्माता, निर्देशक तथा कलाकारहरूले लामो समयदेखि आवाज उठाउँदै आएका थिए। प्रधानमन्त्री ओलीले यो “रचनात्मक क्षेत्रप्रतिको सरकारको प्रतिवद्धता” भएको स्पष्ट पारे। स्टुडियो निर्माणले न केवल फिल्म निर्माणलाई सहज बनाउनेछ, स्थानीय रोजगारीको अवसर पनि सिर्जना गर्नेछ। साथै, घरेलु तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्ने सम्भावना रहेको विशेषज्ञहरूको मत छ।