काठमाडौं, ३० वैशाख —तीनकुनेमा भएको राजावादी आन्दोलनले बल्झाएको आगो अझै निभेको छैन, त्यसकै खरानीमुनि सल्किरहेको अनुसन्धानको लप्का फेरि एकपटक बलियो बनाइएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित आन्दोलनमा संलग्न आरोपितहरूलाई प्रहरीले आठौंपटक म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ। १५ चैतको दिन तीनकुनेमा आयोजित प्रदर्शन हिंसात्मक मोड लिएपछि त्यसमा संलग्न रहेको आरोपमा मिश्रसहित थुप्रै नेता–कार्यकर्ताहरू पक्राउ परेका थिए। प्रहरीका अनुसार मिश्रमाथि राज्यद्रोह, संगठित अपराध र आपराधिक उपद्रव जस्ता गम्भीर आरोपमा अनुसन्धान भइरहेको छ। यता, आन्दोलनका कमान्डरका रूपमा चिनिएका दुर्गा प्रसाईं पनि थुनामै छन् भने राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा स्वास्थ्य कारणले थुनाबाहिर राखेर अनुसन्धान भइरहेछ। रवीन्द्र मिश्रलाई १६ चैतमा पहिलोपटक थुनामा राखिएको थियो। त्यसयता पटक–पटक म्याद थप गर्दै ३० वैशाखमा आठौंपटक म्याद थपका लागि अदालत समक्ष प्रस्तुत गरिएको हो। प्रहरीले आन्दोलनमा संलग्न भनेर करीब ९० जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। तीमध्ये २४ जना थुनामा राखेर अनुसन्धान जारी छ। कतिपयमा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग जस्ता आरोप पनि थपिएको जनाइएको छ। यसैबीच, मिश्रलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन पनि परेको छ, जसको बहस हाल विचाराधीन अवस्थामा छ।