काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले साहित्यलाई समाज परिवर्तनको मेरुदण्ड भनेका छन्। उनले देशलाई निराशाबाट आशातर्फ डोर्याउन साहित्य, विचार र संस्कृतिको भूमिकालाई निर्णायक मान्दै “प्रगतिको मूल बिन्दु नै आशाको सञ्चार हो” भन्ने धारणा राखे। नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित प्रज्ञा पुरस्कार समर्पण समारोहमा मंगलबार बोल्दै मन्त्री पाण्डेले पछिल्ला दिनमा समाजमा निराशा छर्ने सन्देशहरू बढी फैलिएको उल्लेख गरे। उनका अनुसार, यस्तो प्रवृत्तिले देशको उन्नति र समृद्धिको यात्रामा अवरोध सिर्जना गर्छ। मन्त्री पाण्डेले नेपाल हाल कुनै पनि प्रकारको सशस्त्र द्वन्द्वमा नरहेको, सबै मित्र राष्ट्रहरूसँग सौहार्दपूर्ण सम्बन्ध कायम रहेको र सरकार समस्याहरू समाधान गर्ने दिशातर्फ उन्मुख रहेको बताउँदै “देश विकासको गतिमा तीव्रता लिने चरणमा प्रवेश गरिसकेको” दाबी गरे। उनले साहित्यकारहरूलाई समाजलाई विचारले सशक्त बनाउने अगुवाको रूपमा चित्रण गर्दै, “साहित्य, दर्शन र आलोचनाले समाजमा सकारात्मक चिन्तनको बीजारोपण गर्छ,” भने। पाण्डेका अनुसार, अहिलेको समयमा साहित्यमार्फत आशाको खेती गर्न आवश्यक छ। समारोहमा विभिन्न विधामा योगदान दिने ११ जना स्रष्टालाई प्रज्ञा पुरस्कार २०७८ प्रदान गरियो। एक लाख रुपैयाँ राशी रहेको यो पुरस्कारले स्रष्टाहरूको योगदानको उच्च कदर गर्नुका साथै भविष्यमा अझ योगदान दिन प्रेरणा प्रदान गर्छ। पुरस्कार विधा विजेता नाम भाषा श्री चूडामणि रेग्मी सामाजिकशास्त्र श्री दिल साहनी संस्कृति श्री डिक बान्तावा बालसाहित्य श्री शारदारमण नेपाल साहित्य (पद्य) श्री जसराज किराती साहित्य (गद्य) श्री कृष्ण धरावासी समालोचना डा. सुधा त्रिपाठी दर्शन श्री गोपीरमण उपाध्याय अनुवाद डा. बलराम अधिकारी अन्तर्देशीय (भारत) श्री भविलाल लामिछाने