+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

आयातमा होइन उत्पादनमा बढ्यो भरोसा: अपी पावरको नाफा आकाशिदै, चुनौती भने यथावत्

जनवाच
११ घण्टा अगाडी

काठमाडौं । देशभित्रै जलविद्युत् र सौर्य ऊर्जामा लगानी बढाउँदै आएको अपी पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उल्लेखनिय प्रगति गरेको छ । उत्पादनमा विस्तारसँगै कम्पनीको आम्दानीमा उल्लेखनिय वृद्धि देखिएको छ । कम्पनीको नाफा विगतको तुलनामा झण्डै आठगुना पुगेको छ । लगानीकर्ताका लागि सन्देश यही मात्र होइन—कम्पनी अझैपनि आन्तरिक व्यवस्थापन र बाह्य राजनीतिक अस्थिरताबाट त्रसित देखिन्छ।

आव २०७८/७९ को चैत मसान्तसम्म ४५ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आवको सोही अवधिमा ३५ करोड रुपैयाँभन्दा बढी नाफा कमाएको छ। राजस्व १ अर्ब १९ करोड रुपैयाँ पुगेको छ जुन अघिल्लो त्रैमासको तुलनामा झण्डै ३९ प्रतिशतले बढी हो । यो आम्दानी ८.५ मेगावाटको नौगाड, ८ मेगावाटको अपर नौगाड, र ४० मेगावाटको माथिल्लो चमेलिया जस्ता आयोजनाबाट आएको हो।

कम्पनीको प्रति शेयर आम्दानी वार्षिक ७.७६ रुपैयाँमा सीमित छ । जुन अघिल्लो त्रैमासको १०.२६ बाट घटेको हो। पीई अनुपात भने ३५.२० पुगेको छ । जसले कम्पनीको शेयर बजारमा उच्च मूल्यांकन दर्शाउँछ।

हाल सञ्चालनमा रहेका जलविद्युत् र सौर्य आयोजनाहरूले कम्पनीलाई ऊर्जा क्षेत्रको अग्रणी स्थानमा उभ्याइरहेको छ। जम्मा ६ वटा परियोजनाहरूबाट व्यवसायिक उत्पादन भइरहेको छ । यसमध्ये ४० मेगावाटको माथिल्लो चमेलिया आयोजना कम्पनीको प्रमुख पुँजी स्रोत बन्दै गएको देखिन्छ।

आर्थिक प्रगतिको सङ्केत देखिए पनि कम्पनीले आन्तरिक रुपमा दक्ष जनशक्तिको कमी र अतिरिक्त खर्च नियन्त्रण जस्ता चुनौती सामना गरिरहेको छ। बाह्य रुपमा राजनीतिक प्रतिबद्धताको कमी र अनुमतिपत्र प्रक्रिया ढिलाइ कम्पनीको दीर्घकालीन विस्तार योजनामा अवरोध बनेका छन्।

त्रैमासभरि कम्पनीको शेयर सक्रिय रूपमा कारोबार भयो । ५६ दिनमा झण्डै १ करोड ४ लाख कित्ता शेयर कारोबार हुँदा २ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। अधिकतम मूल्य ३१० रुपैयाँसम्म पुगेको थियो भने अन्त्यमा २७३ रुपैयाँमा स्थिर भयो।

अपी पावरले स्वदेशी ऊर्जामा लगानी गर्दै आत्मनिर्भरता तर्फको यात्रालाई बलियो बनाइरहेको देखिन्छ । तर वित्तीय अनुशासन, प्राविधिक दक्षता र राजनीतिक स्पष्टता बिना यो प्रगति अस्थायी बन्न सक्छ। लगानीकर्ताका लागि यस कम्पनीमा अवसर र जोखिम दुवै सँगसँगै रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ