काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनीलाई साझा श्रद्धा र विश्वशान्तिको भूमिको रूपमा विश्वमै स्थापित गर्ने सरकारको स्पष्ट अठोट दोहोर्याएका छन्।
२५६९औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८२ को अवसरमा सोमबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले बुद्धको शिक्षालाई मानवताको साझा ज्योति र विश्व कल्याणको आधारका रूपमा प्रस्तुत गरे।
“बुद्ध करुणा, ज्ञान र सद्भावका शाश्वत स्रोत हुनुहुन्छ,” मन्त्री पाण्डेले भन्नुभयो, “उहाँको सन्देश जात, धर्म र सीमा नाघेर सम्पूर्ण मानवताका लागि छ।
लुम्बिनीलाई आध्यात्मिक चिन्तन र अध्ययनको विश्वव्यापी केन्द्र बनाउने लक्ष्यसहित सरकारले विभिन्न रणनीति अघि बढाएको मन्त्री पाण्डेले बताए। उहाँले लामो समयदेखि निष्क्रिय देखिएको अन्तर्राष्ट्रिय समिति पुनः सक्रिय बनाई लुम्बिनीको हितमा प्रभावकारी पहल गरिने जानकारी समेत दिनुभयो।
लुम्बिनीको संरक्षण र संवर्धनलाई पुस्तौंदेखि पुस्तासम्म निरन्तरता दिन सबै नेपालीको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले लुम्बिनीलाई शान्ति र सहअस्तित्वको विश्व प्रतीक बनाउने दृष्टिकोण प्रस्तुत गर्नुभयो।
कार्यक्रमका क्रममा मन्त्री पाण्डेले भैरहवा विमानस्थल सञ्चालनबारे समेत स्पष्ट दृष्टिकोण राख्दै भने, “सरकार भैरहवा र पोखरा विमानस्थलको प्रभावकारी सञ्चालनका लागि संवेदनशील छ। कार्ययोजना त लागू भइसकेको छ, अब कार्यान्वयनका बाँकी अवरोध हटाउन जेठ ७ गते प्रधानमन्त्रीको उपस्थितिमा अन्तरमन्त्रालय बैठक बस्नेछ।