काठमाडौँ । पेट्रोलियम बजारमा एकछत्र अधिकार राख्दै आएको नेपाल आयल निगमले आर्थिक वर्ष २०८०/८१ मा झण्डै १० अर्बको नाफा आर्जन गरेको छ । शुक्रबार सम्पन्न ४३औँ वार्षिक साधारणसभामा सार्वजनिक गरिएको तथ्यांकअनुसार निगमले रु ९ अर्ब ५५ करोडको नाफा कमाएको हो।
नाफाको यो दर खासगरी आयात र बिक्री मूल्यबीचको अन्तरबाट आएको देखिन्छ । उक्त वर्ष निगमले रु ३ खर्ब ५६ अर्ब ७२ करोडको पेट्रोलियम पदार्थ आयात गर्दा, रु ३ खर्ब ६४ अर्ब ५२ करोड बराबरको बिक्री गरेको थियो।
त्यसअघिको आर्थिक वर्ष २०७९/८० मा भने निगमले रु ३ खर्ब ८३ अर्बको पेट्रोलियम पदार्थ बिक्री गरेको थियो, जसको तुलनामा चालु वर्षको बिक्री अलिकति घटेको देखिए पनि नाफामा भने उल्लेखनीय वृद्धि भएको छ।
देशभर पेट्रोलियम आपूर्तिको जिम्मा लिएको निगमले एकाधिकारकै आधारमा बजार नियन्त्रण गर्दै आएको छ, जसले गर्दा नाफा कमाउने अवसर अझ सहज बन्न गएको विश्लेषण गरिएको छ।
तर, उपभोक्ता भने हरेक पटकको मूल्यवृद्धिमा मारमा पर्न बाध्य छन्। निगमले आयात मूल्यमा आधारित मूल्य समायोजनको तर्क गर्ने गरे पनि, नाफाको यस्तो दरले मूल्य निर्धारण प्रणालीमाथि प्रस्न उठ्ने गर्छ ।