काठमाडौं, चैत १९ – नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारणसभा आज काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजे बस्दैछ। कम्पनीले लाभांश वितरणदेखि हकप्रद शेयर जारी गर्ने जस्ता महत्वपूर्ण प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ।
सभाले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत सभामा पेश हुनेछ, जसमा पुनरवलोकनको सम्भावना पनि रहन सक्छ।
बोनस शेयर जारीपछि कम्पनीको चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा छलफल हुने भएको छ।
साधारणसभाले गएको आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ। साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्नेछ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्च स्वीकृत गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।
नेपाल इन्स्योरेन्सले चैत ७ गते बुक क्लोज गरिसकेको छ, जसअनुसार चैत ६ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् र सभामा भाग लिन योग्य हुनेछन्।