काठमाडौं – काठमाडौं महानगरपालिकाले एसईई परीक्षा सकेर घर फर्कन समस्या भोगिरहेका विद्यार्थी तथा शिक्षकहरूको उद्धार गरेको छ। गणतन्त्रवादी र राजावादी समूहबीचको प्रदर्शनका कारण सवारी आवागमन प्रभावित हुँदा १५२ जना विद्यार्थी र शिक्षकहरू घर फर्कन असमर्थ भएका थिए। यसअघि महानगरले परीक्षार्थी तथा शिक्षकहरूलाई आवश्यक परे सहयोग माग्न सार्वजनिक अपिल गरेको थियो। त्यसअनुसार, महानगर प्रहरी बलले बानेश्वर, रत्नपार्क, नयाँ बसपार्क, र टेकु क्षेत्रमा फसेका विद्यार्थी तथा शिक्षकहरूलाई उद्धार गरी सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याएको हो। काठमाडौंमा बिहानैदेखि भइरहेका प्रदर्शनका कारण सार्वजनिक यातायात ठप्प हुँदा परीक्षार्थीहरू अलपत्र परेका थिए। महानगरको सक्रियताले उनीहरू सुरक्षित रूपमा घर पुग्न सकेका छन्।