काठमाडौँ, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नव निर्वाचित नेतृत्वसँग विशेष भेटघाट गर्दै पत्रकारिताको व्यावसायिकता, वैचारिक सुदृढता र साङ्गठनिक क्षमताको वृद्धि गर्नुपर्नेमा जोड दिए ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज आयोजित भेटमा प्रधानमन्त्री ओलीले चौतारीको केन्द्रीय कमिटी सर्वसम्मत रूपमा चयन भएकोमा प्रसन्नता व्यक्त गर्दै यसले सकारात्मक सन्देश दिएको बताए । उनले नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिनुहुँदै पत्रकारितालाई निष्पक्ष, तथ्यमा आधारित र उत्तरदायी बनाउने दिशामा अगाडि बढ्न आग्रह गरे ।
यही चैत १० देखि १२ गतेसम्म विराटनगरमा सम्पन्न भएको प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट गणेश पाण्डेको अध्यक्षतामा नयाँ केन्द्रीय कमिटी चयन भएको थियो। महाधिवेशन अघि आकांक्षीहरूले आफूलाई भेटे पनि नेतृत्व छनोटमा कुनै दबाब नदिएको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले स्वतन्त्र र पारदर्शी प्रक्रियाबाट चयन हुनु महत्त्वपूर्ण रहेको बताए ।
उनले पत्रकारितालाई सत्य र जिम्मेवारीको जगमा उभ्याउनुपर्ने भन्दै समाजमा भ्रम फैलाउने, आरोप-प्रत्यारोपमा रमाउने प्रवृत्तिबाट टाढा रहन आग्रह गर्नुभयो। साथै, सामाजिक सञ्जालको सही प्रयोग गर्दै सञ्चार क्षेत्रलाई सामाजिक सद्भाव, राष्ट्रिय एकता र समृद्धिको दिशामा लाग्न आह्वान गरे ।