काठमाडौं, १२ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान लोकतान्त्रिक व्यवस्थालाई कुनै पनि हालतमा राजतन्त्रले विस्थापन गर्न नसक्ने बताएका छन्। उनले अबको युग व्यक्तिवादी शासन होइन, जनताको सहभागिता र लोकतन्त्रको युग भएको स्पष्ट पारेका छन्। नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कोइराला परिवारको योगदानको चर्चा गर्दै कुनै पनि मुलुक एक व्यक्तिको बलमा नभई सम्पूर्ण जनताको योगदानले निर्माण हुने बताए। सुजाता कोइरालाद्वारा लिखित आत्मकथा ‘म र मेरो सानो बुबा’ को लोकार्पण कार्यक्रममा प्रधानमन्त्री ओलीले व्यक्तिवादी शासन प्रणालीलाई समयसापेक्ष नभएको बताएका थिए। उनले भने, “सबै नेपालीका पूर्खाले लडेर यो देश बनाएका हुन्, कुनै एक व्यक्तिले होइन। अबको युग राजतन्त्रको होइन, त्यसतर्फ फर्कने कुनै सम्भावना छैन।’’ प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई थप संस्थागत गर्दै देश विकासमा सबै दल एकजुट हुनुपर्ने बताए। उनले लोकतान्त्रिक प्रणालीलाई जनमुखी बनाउँदै समृद्ध नेपाल निर्माणमा लाग्नुपर्नेमा जोड दिए। कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालासँगको आफ्नो राजनीतिक यात्रा स्मरण गरेका थिए। नेता डा. शेखर कोइरालाले शान्ति प्रक्रियामा कोइरालाको नेतृत्वको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै लोकतन्त्रलाई थप सुदृढ बनाउन उनका विचारहरू आज पनि सान्दर्भिक रहेको बताए।