काठमाडौं, फागुन २८ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड ले आफ्नो १७औं वार्षिक साधारण सभा चैत ११ गते झापाको सिद्धार्थ होटल, बिर्तामोड मा आयोजना गर्ने भएको छ।
साधारण सभामा बैंकले गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय प्रतिवेदन माथि छलफल गर्नेछ। यसअन्तर्गत वासलात, नाफा-नोक्सान विवरण, नगद प्रवाह विवरण प्रस्तुत गरिनेछ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
बैंकले यसअघि नै गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ, जसकारण यो साधारण सभामा लाभांश सम्बन्धी प्रस्ताव समावेश गरिएको छैन।
सभामा अर्को महत्वपूर्ण प्रस्ताव अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन (गाभ्ने/गाभिने) सम्बन्धी निर्णय गर्न सञ्चालक समितिलाई अख्तियार प्रदान गर्ने विषय रहेको छ। बैंकिङ क्षेत्रमा मर्जरलाई प्राथमिकता दिइरहेका बेला एक्सेल बैंकले पनि संभावित गाभ्ने-गाभिने प्रक्रियामा प्रवेश गर्ने संकेत गरेको छ।
साधारण सभामा भाग लिनका लागि बैंकले फागुन २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। अर्थात्, फागुन २८ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन्।