काठमाडौं, फागुन १५ – हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा इक्विटी परिवर्तनलगायतका वित्तीय विवरणहरू अनुमोदन गरेको छ।
साधारण सभाले शेयरधनीहरूलाई चुक्तापूँजीको ८.७५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सोअनुसार, शेयरधनीहरूले कूल रु. २१ अर्ब ८७ करोड ६३ लाख ७७ हजार ३ रुपैयाँ बराबरको नगद लाभांश प्राप्त गर्नेछन्।
सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले कम्पनीको प्रविधि र प्रतिभामा गरिएको लगानीले दीर्घकालीन रूपमा श्रोतहरूको परिचालन गरी दिगो लाभ सुनिश्चित गर्ने विश्वास व्यक्त गरे। साथै, उनले सम्पूर्ण सरोकारवालाहरूको विश्वास र सहयोगबाट कम्पनीलाई गतिशील बनाउँदै निर्जीवन बीमा क्षेत्रमा अग्रणी बनाउने लक्ष्य रहेको बताए।
त्यस्तै, प्रमुख कार्यकारी अधिकृत (CEO) अन्जु श्रेष्ठले ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै नवीनतम प्रविधिको प्रयोगमार्फत गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले कम्पनीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित संस्था बनाउने आफ्नो प्रयास जारी रहने बताइन्।
साधारण सभामा शेयरधनी जगन्नाथ आचार्य, उत्तमदत्त पाण्डे, सुदीप श्रेष्ठलगायतले मन्तव्य व्यक्त गर्दै कम्पनीको प्रगति तथा लाभांश वितरणको प्रशंसा गरे। नगद लाभांश प्रदान गरिएपछि अधिकांश शेयरधनीहरूले खुशी व्यक्त गरेका थिए।