काठमाडौं – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को फाइनलमा न्यूजील्याण्ड प्रवेश गरेको छ। बुधबार राति सम्पन्न सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई ५० रनले पराजित गर्दै कीवी टोलीले उपाधि नजिकको यात्रा तय गरेको हो। पाकिस्तानको लाहोरमा भएको रोमाञ्चक खेलमा न्यूजील्याण्डले टस जितेर पहिले ब्याटिङ गर्दै ५० ओभरमा ६ विकेटको क्षतिमा ३६२ रनको विशाल योगफल तयार पारेको थियो। कीवी टोलीका लागि युवा खेलाडी रचिन रविन्द्रले १०८ रनको शानदार शतक प्रहार गरे भने कप्तान केन विलियम्सनले १०२ रन बनाए। त्यस्तै, डार्यल मिचेल र ग्लेन फिलिप्सले ४९-४९ रनको योगदान दिए। दक्षिण अफ्रिकाका बलर लुंगी एनगीडीले ३ विकेट लिए भने कागिसो रबाडाले २ र विआन मुल्डरले १ विकेट हात पारे। ३६३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकी टोली ५० ओभरमा ९ विकेटको क्षतिमा ३१२ रनमा समेटियो। दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले ६७ बलमा शतकीय इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। रस्सी भान डेर दुसेनले ६९ रन बनाए भने कप्तान टेम्बा बभुमाले ५६ रनको योगदान दिए। न्यूजील्याण्डका बलर मिचेल सान्टनरले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए भने माट हेनरी र ग्लेन फिलिप्सले समान २-२ विकेट लिए।