काठमाडौं – हलिवुडको सबैभन्दा प्रतिष्ठित अवार्ड समारोह, ओस्कार २०२۴ मा यौनकर्मीको जीवन कथामा आधारित फिल्म ‘अनोरा’ ले इतिहास रचेको छ। फिल्मले उत्कृष्ट चलचित्रको अवार्डसहित पाँच विधामा ओस्कार जित्दै आफ्नो प्रभुत्व कायम गरेको छ।
यथार्थपरक कथा र उत्कृष्ट निर्देशनको कदर
‘अनोरा’ ले उत्कृष्ट फिल्मको अवार्ड जित्नुका साथै अभिनेत्री मिकी म्याडिसनले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरिन्। यसैगरी, फिल्मका निर्देशक शन बेकरले उत्कृष्ट निर्देशनको पुरस्कार जिते। फिल्मले उत्कृष्ट सम्पादन र मौलिक पटकथाका लागि पनि ओस्कार जित्न सफल भयो।
पुरस्कार ग्रहण गर्दै म्याडिसनले यो अवार्ड सम्पूर्ण यौनकर्मी समुदायलाई समर्पण गरेकी छिन्। उनले भनेकी छिन्, “हामीले समाजका अनदेखा कथालाई अगाडि ल्याउने जिम्मेवारी बहन गरिरहेका छौँ। यौनकर्मीहरूलाई समाजमा सम्मानजनक स्थान दिनुपर्छ।”
त्यस्तै, निर्देशक बेकरले ‘अनोरा’ लाई “साँच्चै स्वतन्त्र फिल्म” भएको बताएका छन्। उनले वास्तविक कथाहरुलाई उजागर गर्ने कार्यलाई एकेडेमीले सम्मान गरेकोमा खुसी व्यक्त गरे।
यस वर्षको ओस्कारमा ‘अनोरा’ को अलावा ‘द ब्रुटालिस्ट’ ले तीन, ‘विक्ड’, ‘एमिलिया पेरेज’ र ‘ड्युन: पार्ट टू’ ले दुई-दुई विधामा अवार्ड जितेका छन्।