काठमाडौं । नबिल बैंकका वरिष्ठ उपप्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले विश्वभर चलिरहेको स्टार्टअप ९० देखि ९५ प्रतिशत असफल हुने बताएका छन् । नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा आज बुधबारबाट सुरु भएको नेपाल स्टार्टअप र साना तथा मझौला सम्मेलनमा उनले स्टार्टअप सुरु सुरुमै असफल हुने बताए ।
बैंकले असफल व्यवसायको जोखिम लिन नसक्ने कारण स्टार्टअपलाई लगानी नगर्ने ज्ञवालीले बताए । स्टार्टअपले बैंकहरु खोज्नेभन्दा पनि सरकारी श्रोतहरु खोज्नुपर्ने उनको सुझाव छ ।
ज्ञवालीले भने, ‘यदी स्टार्टअप गर्ने हो भने आफ्नो सञ्चित रकमबाट सुरु गर्नुहोस् । यदी पुगेन भने परिवारको सदस्यहरुबाट लिनुहोस् । त्यसले पनि पुगेको भने भेन्चर क्यापिटलहरुमा जानुहोस् । त्यसले पनि पुगेन भने सरकारमा पुग्नुहोस् । यति गरेपछि स्टार्टअप ग्रो हुन्छ र बैंक त्यसपछि तपाइँको पछि पछि लाग्छ ।’