काठमाडौं । खराब कर्जाको दर झन्झन् बढ्दै गर्दा बैंक तथा वित्तीय संस्थाहरु तनावमा परेका छन् । ऋणीले धितोको रुपमा राखेको घरजग्गा समेत बिक्री नहुदा बैंकहरु थप समस्यामा परेका हुन् । यस्तो गैरबैंकिङ सम्पत्ति बिक्री वितरणमा स्थानीय सरकारले असहयोग गरेको बैंकरहरुले गुनासो गरेका छन् ।
धितो लिलामीमा घरबाटोको झमेला हुने गरेको भन्दै बैंकहरुले सो प्रमाणिकरणमा विशेष भूमिका खेलिदिन स्थानीय सरकारसँग विशेष आग्रह गरेका छन् ।
मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बैंकहरुको खराब कर्जाको दर बढ्दै जाँदा गैरबैंकिङ सम्पत्ति थुप्रिन पुगेको गुनासो गरे । तर, उक्त सम्पत्ति लिलाम बिक्री गरेर लगानी असुल गर्न खोज्दा समेत झमेला हुने गरेको गुनासो गरे ।
अध्यक्ष कोइरालाले भने, ‘बैंकहरुको खराब कर्जाको दर बढेर साढे ४ प्रतिशत पुगिसकेको छ । यता धितोबापतको सम्पत्ति बेचेर उठाउन त भन्दा पनि सकिराखिएको छैन । घरबाटो प्रमाणित हुँदैन । यसका लागि स्थानीय सरकारको सहयोगको खाँचो छ’ उनले भने ।
थप कर्जा असुली (रिकभरी) मा बैंकका कर्मचारीहरूले भोग्नुपरेको हिंसा र आक्रमणको विषयमा समेत सरकारको गम्भीर हुनुपर्ने उनले बताए ।
बैंकिङ क्षेत्र अत्यन्त संवेदनशील र जोखिमयुक्त क्षेत्र भएकाले यस क्षेत्र समस्यामा परे सरकार र सिंगो मुलुकको अर्थ प्रणालीमा नै समस्या आउने बताउँदै अध्यक्ष कोइरालाले सरकारले समयमानै ध्यान दिनुपर्ने बताए ।