काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले ३० करोड रुपियाँबराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले माघ ९ गतेदेखि २३ गतेसम्म सात वर्षे अवधिको ‘९ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर–२०८८’ ऋणपत्र निष्काशन गर्ने भएको हो ।
फाइनान्सले प्रतिडिबेन्चर १ हजार रुपियाँका दरले कुल ३ लाख इकाइ ऋणपत्र जारी गर्नेछ । यसमध्ये १ लाख ८० हजार कित्ता व्यक्तिगत तवरबाट र १ लाख २० हजार कित्ता सार्वजनिक निष्काशन गर्नेछ । त्यस्तै सार्वजनिक निष्काशनमध्ये ६ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ।
यो ऋणपत्रमा घटीमा २५ कित्ता र बढीमा १ लाख २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याजदर पाउनेछन् ।
यो ऋणपत्रमा धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट र सीडीएससीको मेरो शेयरबाट समेत आवेदन दिन सकिनेछ ।