काठमाडौं । अब राष्ट्रिय परिचयपत्र नभए बैंक खाता पनि खोल्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार इजाजतपत्र प्राप्त “क”, “ख”, “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन/परिमार्जन/थप गर्दै व्यक्तिले खाता खोल्दा प्रयोग गर्ने परिचय पत्र, ग्राहकको जानकारीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो ।
केन्द्रीय बैंकले निर्देशनमार्फत भनेको छ, ‘बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकीन गरी अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्नेछ ।’
नेपाल सरकारले सामाजिक सुरक्षा लगायतका सरकारी भुक्तानी दिनुपर्ने अवस्थामा सम्बन्धित सरकारी निकायले उपलब्ध गराएको विवरणका आधारमा बैंक तथा वित्तीय संस्थाले खाता खोल्नु पर्नेछ । त्यस्तो खाताबाट रकम झिक्नुअघि यस निर्देशन बमोजिम ग्राहक पहिचान तथा सम्पुष्टि गर्नुपर्ने समेत निर्देशनमा भनिएको छ ।