काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले पेट्रोलियम गाडीमा ३६० प्रतिशतसम्मको कर अति भएको बताएका छन् । नाडाको ४८औं वार्षिक साधारणसभामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले मुलुकको कूल राजस्वमा २१ प्रतिशतसम्म योगदान दिने अटोमोबाइल क्षेत्रमा राज्यले उपेक्षा गरेको आरोप लगाए ।
‘अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रमा एक महत्वपूर्ण क्षेत्र हो । जसले वार्षिक २१ प्रतिशत राजस्वमा योगदान दिइरहेको छ । यहीँ क्षेत्रले विज्ञापन क्षेत्रको ४० प्रतिशत र निर्जीवन बीमाको क्षेत्रतर्फ ५० प्रतिशत हिस्सा ओगटेको छ । अमोबाइल क्षेत्रले प्रत्येक्षतर्फ एक लाख र अप्रत्येक्ष रुपमा १० लाखलाई रोजगारी सिर्जना गरेको छ । फेरि यस्तो क्षेत्रलाई राज्यले विलासिताको क्षेत्र भन्छ । यो उचित होइन ।’
आईसीई ९विद्युतीय० सवारीमा राज्यले उच्च कर लगाएको गुनासो गर्दै अध्यक्ष चौधरीले भने, ‘२५० प्रतिशतदेखि ३६० प्रतिशतसम्म कर अति भयो । यसलाई समयसापेक्ष घटाउन आवश्यक छ । छिमेकी मुलुक भारतको तुलनामा नेपालमा जुनकुनै सवारी चार गुणा बढी महंगो भयो । यसले उपभोक्तालाई मार पारिरहेको छ ।’
पछिल्लो समय विद्युतीय सवारीको माग र प्रयोग समेत बढ्दै गइरहेको अवस्थामा सरकारले विद्युतीयमा समेत निरन्तर कर वृद्धि गर्ने र अनिश्चिततामा राख्ने गर्नाले व्यवसायी र उपभोक्ता दुबै मर्कामा परेको उनले बताए । अस्थिर कर नीतिकै कारण विद्युतीय सवारीमा समेत समस्या देखा परेको उनले बताए । यस्तो कर नीति र विद्युतीय सवारीको प्रोत्साहनका लागि सरकारले छुट्टै रणनीतिको विकास गर्नुपर्ने उनले बताए ।