काठमाडौं । नागरिक लगानी कोष (सीआईटी) ले अब आफ्ना सबै शाखा कार्यालयहरुबाट समेत कर्जा प्रवाह गर्ने भएको छ । कोषमा आवद्ध बचतकर्ताहरुले शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा पाउने भएका हुन् । कोषका सबै शाखा कार्यालयहरूबाट सहभागीहरुलाई निश्चित रकमसम्मको आवास र सरल कर्जा दिने व्यवस्था मिलाएको कोषले जनाएको छ ।
कोषका अनुसार कोषका सहभागीलाई मोफसलबाट समेत यस्तो कर्जा लिन सहज होस् भन्ने उद्देश्यले कर्जा सुविधालाई सहज बनाइएको हो । योभन्दा अघि सबै शाखा कार्यालयहरूले आवास र सरल कर्जा स्वीकृतिको लागि कर्जाको कागजपत्र केन्द्रीय कार्यालयमा पठाउनु पर्ने व्यवस्था थियो । नयाँ व्यवस्थापछि निश्चित रकमसम्मको कर्जा अब शाखा कार्यालयबाट नै उपलब्ध हुने भएकोले सेवाग्राहीलाई कर्जा कारोबारमा सहजता मिल्ने कोषले जनाएको छ ।
कोषले सहभागीहरूलाई बचत रकमको ९० प्रतिशतसम्म ऋण सापटी दिन सकिने व्यवस्था गरेको छ । यसअघि यस्तो सापटीको सीमा सहभागीको नाममा जम्मा रहेको बचत रकमको ८० प्रतिशतसम्म थियो।