काठमाडौं – सर्लाहीको लालबन्दीमा सवारी दुर्घटनाले एक युवकको ज्यान लिएको छ । ना२क ५०१ नम्बरको टिपरले साइकलमा सवार एक युवालाई ठक्कर दिदा घटनास्थल तनावग्रस्त बनेको छ । स्थानीयवासीको आक्रोश यति चुलियो कि ठक्कर दिने टिपरमा आगजनी समेत गरियो ।
दुर्घटनामा सर्लाही, कबिलासी नगरपालिका–८, अगर्वाका २० वर्षीय सचिन साह (गुप्ता) को ज्यान गएको हो । उनी दिनेश साहका छोरा हुन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटना लालबन्दी नगरपालिका–५, मेजरगञ्जस्थित भित्री सडक खण्डमा बुधबार राति करिब ८ बजेतिर भएको हो। जब्दीबाट लालबन्दी जाँदै गरेको टिपरले साइकलमा सवार युवकलाई ठक्कर दिएको बताइएको छ।
घाइते अवस्थामा प्रादेशिक अस्पताल, मलंगवा लगिएको थियो तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटना लगत्तै टिपर चालक फरार भएका छन् भने क्रोधित स्थानीयवासीहरूले टिपरमा आगजनी गरेका थिए। घटनास्थलमा प्रहरी परिचालन गरिएको छ भने प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ।