१६ जेठ, काठमाडौं — शैक्षिक प्रणालीलाई रोजगार र उद्योगसँग प्रत्यक्ष जोड्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालय बीच सहकार्यका सम्भावनामा छलफल भएको छ। अब विश्वविद्यालयले पढाउने मात्र होइन, उत्पादन गर्ने त्यो पनि उद्योगलाई चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने दिशामा पाइला चाल्न थालेको छ। महासंघको सचिवालयमा भएको छलफलमा पाठ्यक्रम विकासदेखि इन्टर्नशिप, तालिम, संयुक्त अनुसन्धान, नवप्रवर्तन र रोजगार सिर्जना सम्मका बहुआयामिक सहकार्यका सम्भावनामाथि गहिरो छलफल भएको हो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल भन्छन्, शिक्षा र उद्योगबीचको खाडल हटाउने बेला आएको छ। यो सहकार्यले उद्योग–व्यवसायको आवश्यकता अनुसारको जनशक्ति उत्पादन र युवालाई रोजगारीमा टेवा पुर्याउनेछ। नेपाल विश्वविद्यालयका कुलपति डा. बिन्दुनाथ लोहनी ले सहकार्यले नेपालको शैक्षिक प्रणालीलाई विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउने विश्वास व्यक्त गरे। “सैद्धान्तिक ज्ञान मात्रै हैन, व्यावहारिक सीप र उद्यमशील भावना प्रदान गर्ने हाम्रो लक्ष्य हो। महासंघसँगको सहकार्यले त्यो लक्ष्य नजिक ल्याउँछ, उहाँले भन्नुभयो। विश्वविद्यालयका उपकुलपति डा. अर्जुन कार्की का अनुसार, “गुणस्तरीय र सीपयुक्त जनशक्ति उत्पादन हाम्रो मुख्य उद्देश्य हो। उद्योग क्षेत्रको प्रत्यक्ष सहभागिता बिना त्यो सम्भव हुँदैन। त्यसैले महासंघसँगको सहकार्य अपरिहार्य छ। छलफलमा सहभागी दुवै पक्षले विशेष गरी विद्यार्थीहरूका लागि इन्टर्नशिप, रोजगारी अवसर, स्टार्टअप प्रवर्द्धन, संयुक्त परियोजना र अनुसन्धानमा सहकार्य गर्न सकिनेमा सहमति जनाएका छन्।