काठमाडौं, चैत १३ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ ले आफूलाई राजसंस्थाको पक्षधर देखाउने गलत प्रचारविरुद्ध कडा आपत्ति जनाएका छन् । उनले विज्ञप्ति जारी गर्दै राजावादी शक्तिहरूले नियोजित रूपमा अफवाह फैलाएको आरोप लगाएका छन् ।
केही समयदेखि सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यममा वैद्यलाई राजसंस्थाको पुनर्स्थापनाको पक्षमा देखाउने सामग्री प्रसारित भएका थिए । यसबारे स्पष्ट पार्दै महासचिव किरणले भने, ‘यो मात्र अफवाह होइन, यो मेरो जीवनभरको संघर्षमाथिको आक्रमण र गम्भीर राजनीतिक बेइमानी हो ।’
वैद्यले नयाँ जनवादी गणतन्त्रको आधारबाट वैज्ञानिक समाजवाद र साम्यवादको पक्षमा आफू अडिग रहेको बताएका छन् । ‘मेरो राजनीतिक यात्रा वैज्ञानिक समाजवादको स्थापना गर्नतर्फ केन्द्रित छ, त्यसैले कुनै पनि भ्रमपूर्ण प्रचारलाई विश्वास नगर्न आग्रह गर्दछु,’ उनले भने ।
राजावादीहरू पाँच वर्षअघिको एउटा सन्दर्भलाई तोडमोड गरी गलत प्रचारमा लागेको वैद्यको दाबी छ । ‘कम्बोडियाका राजा सिंहानुकको प्रसंग जोडेर मेरो भनाइलाई तोडमोड गरी राजसंस्थाप्रति झुकाव देखाउने प्रयास भैरहेको छ, जुन पूर्णतः अस्वीकार्य छ,’ उनले स्पष्ट पारे ।