काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कडा आपत्ति जनाएको छ। पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारको यो कदमलाई ‘बदनियतपूर्ण’ भएको आरोप लगाएका छन्।
रास्वपाले घिसिङलाई हटाउने निर्णयलाई बिचौलियाहरूको संरक्षण गर्ने षड्यन्त्रको रूपमा व्याख्या गर्दै, प्राधिकरणको वित्तीय सुधार र बक्यौता उठाउने प्रयासमै रोक लगाइएको बताएको छ।
रास्वपाले घिसिङलाई हटाउने निर्णय सत्ता गठबन्धनभित्रको ‘दुई दलीय संयन्त्रको’ सहमतिमा भएको भन्दै यसले नेपाली युवाहरूलाई निरुत्साहित बनाएको उल्लेख गरेको छ। विज्ञप्तिमा भनिएको छ, “देशलाई सुधार गर्न चाहनेहरूमाथि निरन्तर प्रहार गरिनु, भ्रष्टाचारका संरक्षकहरूलाई जोगाउनु र बिचौलियाहरूको चलखेललाई मलजल गर्नु सरकारको प्रमुख कार्यसूचीजस्तै देखिएको छ।”
रास्वपाले घिसिङलाई पुनर्बहाली गर्न सरकारलाई आग्रह गर्दै, यदि निर्णय फिर्ता नभएमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने चेतावनी दिएको छ। पार्टीले भ्रष्टाचार र कुशासनविरुद्ध आफ्नो लडाइँ जारी राख्ने बताएको छ।