काठमाडौं, फागुन १७ । अमेरिका र युक्रेनबीच हुने भनिएको खनिज सम्झौता वार्ताकै क्रममा असफल भएको छ। अमेरिकाले युक्रेनी खनिज स्रोत प्रयोग गर्नेसम्बन्धी सम्झौता गर्ने तयारी गरे पनि वार्ताको वातावरण तनावपूर्ण बनेपछि सहमति हुन सकेन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच सम्पन्न बैठकमा खनिज सम्झौताका केही महत्वपूर्ण बुँदामा सहमति हुन नसकेपछि वार्ता निष्कर्षविहीन बनेको हो। रोयटर्सका अनुसार बैठकका क्रममा चर्काचर्की भएपछि राष्ट्रपति जेलेन्स्की बीचैमा नै उठेर बाहिरिएका थिए।
बैठक अघि ट्रम्पले जेलेन्स्कीको खुलेर प्रशंसा गरेका थिए। तर, वार्ता सुरु भएसँगै परिस्थिति बदलियो। कूटनीतिक रूपमा महत्वपूर्ण मानिएको सम्झौतामाथि बढ्दो मतभेदपछि ट्रम्प स्वयं पनि सम्झौता अघि बढाउने पक्षमा नरहेको ह्वाइट हाउस स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।
चर्चाको क्रममा राष्ट्रपति ट्रम्पले जेलेन्स्कीलाई ‘तेस्रो विश्वयुद्ध निम्त्याउने’ चेतावनी दिएका थिए, जसले दुई देशबीचको सम्बन्ध झन् जटिल बन्ने संकेत दिएको छ। युक्रेन-रुस युद्धका बीच युक्रेनका खनिज स्रोतहरूलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा अमेरिकाको चासो रहँदै आएको थियो। तर, पछिल्लो असफल वार्ताले युक्रेनको अन्तर्राष्ट्रिय साझेदारी रणनीतिमा गम्भीर असर पार्न सक्ने देखिएको छ।