११ असार, काठमाडौं ।नेपालका स्रष्टाहरूले गरेकाे साधना र सिर्जनाले नै देशकाे साहित्यिक तथा सांस्कृतिक अस्तित्वलाई जीवन्त बनाएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले तिनै साधकहरूलाई राष्ट्रिय स्तरमा गरिएको सम्मानलाई ऐतिहासिक उपलब्धिका रूपमा चित्रण गर्नुभएको छ। बुधबार राष्ट्रपति भवन, शीतल निवासमा आयोजित नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०८१ वितरण समारोहमा बोल्दै मन्त्री पाण्डेले नौ जना स्रष्टाहरूलाई प्रदान गरिएको सम्मान नेपाली संस्कृति र पहिचानप्रति राष्ट्रले प्रकट गरेको आदरको स्पष्ट प्रतीक भएको बताउनुभयो। “यहाँहरूकै निरन्तर साधनाले आजको नेपालले आफ्नाे मौलिकता जोगाउन सकेको हो, उहाले भन्नुभयो, विदेशी गीत सुन्ने बाध्यता हटाउदै हामी अब आफ्नै शब्द, स्वर र संगीतलाई विश्वभर गुन्जाउन सक्षम भएका छौं। पुरस्कृत स्रष्टाहरूलाई दुई पुस्ताका सिर्जनशील आत्माहरूको प्रतिनिधित्वका रूपमा मूल्याङ्कन गर्दै मन्त्री पाण्डेले लामो साधनाबाट खारिएका यस्ता प्रतिभाहरूले मात्र सांस्कृतिक हस्तान्तरण सम्भव हुने विश्वास व्यक्त गर्नुभयो। “हाम्रो अमूल्य सांस्कृतिक सम्पदा पुस्तान्तरण गर्नु आजको आवश्यकता हो, मन्त्री पाण्डेले भन्नुभयो, यसका वाहक स्रष्टाहरू नै हुन्, जो राष्ट्रका मौन नायक हुन्। मन्त्री पाण्डेले राष्ट्र सांस्कृतिक सम्पदाको संरक्षण र विस्तारप्रति गम्भीर रहेको उल्लेख गर्दै प्रतिष्ठान, प्रज्ञा संस्थान र भाषा आयोगको भूमिकाको प्रशंसा गर्नुभयो। स्रष्टा मात्र होइन, उहाँहरू संस्कृति र सभ्यताको सन्देशवाहक हुनुहुन्छ, उहाले भन्नुभयो, यसरी गरिने सम्मानले भावी पुस्तालाई पनि मौलिक सिर्जनाप्रति प्रेरणा दिनेछ। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमार्फत प्रदान गरिएको यो सम्मानले नेपालको मौलिकतालाई जोगाउने प्रयासमा एउटा गहिरो सन्देश दिएको भन्दै सहभागी स्रष्टाहरूले समेत सम्मानप्रति आभार व्यक्त गरेका थिए।