११ असार, काठमाडौं – नेपालको औद्योगिक पूर्वाधारमा एक ऐतिहासिक माइलस्टोन थपिएको छ, आइएमई ग्रुपको लगानीमा स्थापना गरिएको एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजबाट पूर्ण सञ्चालनमा आएको छ। रौतहटको फतुवा विजयपुरमा डेढ अर्ब रुपैयाँको लगानीमा स्थापना गरिएको यो उद्योग नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादनमा जुटेको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले काठमाडौँमा आयोजित विशेष कार्यक्रममा उद्योगको औपचारिक उद्घाटन गर्दै उत्पादन सार्वजनिक गर्नुभयो। उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले यो उद्योगले स्वदेशी निर्माण सामग्रीको युग शुरु गरेको भन्दै आयात प्रतिस्थापन मात्रै होइन, दिगो पूर्वाधार विकासतर्फको यथार्थिक पाइला को रूपमा औंल्याउनु भयो। आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योग स्थापना सँगै नेपालभित्रकै स्रोत, श्रम र सीप प्रयोग गरेर विश्वस्तरीय उत्पादन सम्भव रहेको प्रमाणित भएको बताउनुभयो। अब नेपालमा इटाको विकल्पमा फाइबर सिमेन्ट बोर्ड प्रयोग गरेर संरचना बनाउने समय आएको छ,अध्यक्ष ढकालले भन्नुभयो, यसले नेपाललाई आत्मनिर्भर अर्थतन्त्रतर्फ डोर्याउछ। उद्योगमा कच्चा पदार्थ मिसावटदेखि बोर्ड ड्राइङ, प्रेसिङ र कटिङसम्मका सम्पूर्ण प्रक्रिया पूर्ण स्वचालित छन्। यहाँ दैनिक ७५ हजार स्क्वायर फिट फाइबर सिमेन्ट बोर्ड उत्पादन हुने क्षमता छ, जुन ४ फिट लम्बाइ, ८ फिट चौडाइ र ४ एमएमदेखि ३० एमएम मोटाइमा उपलब्ध छन्। यी बोर्डहरू अग्नि प्रतिरोधी, पानी र घामबाट सुरक्षित, लचकदार, टिकाउ, र रङ्ग वा प्लास्टरबिनै प्रयोगयोग्य छन्। भूकम्प, बाढी वा पहिरोका बेला आपत्कालीन संरचना निर्माणमा यी बोर्डहरू छिटो, किफायती र भरपर्दो विकल्प हुने विश्वास गरिएको छ। उद्योगमा हाल २०० जनाभन्दा बढी प्रत्यक्ष-अप्रत्यक्ष रोजगारमा संलग्न छन्, जसमा ९८% स्थानीय जनशक्ति छन् भने ४०%भन्दा बढी महिला सहभागिता रहेको छ। यो केवल एक उद्योग होइन, नेपालको निर्माण क्षेत्रमा प्रविधि, गुणस्तर र आत्मनिर्भरताको युगको सुरुवात हो, आइएमई ग्रुपले जनाएको छ।