काठमाडौँ, १२ फागुन। नेपालमा आयोजित युवा आदानप्रदान कार्यक्रम–२०२५ मा सहभागी हुन आएका भारत, भूटान र माल्दिभ्सका ‘नेशनल क्याडेट कोर’ (एनसिसी) प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाली सेनाको निमन्त्रणामा नेपाल आएका विदेशी क्याडेटहरूको स्वागत गर्दै यस्ता कार्यक्रमले राष्ट्रहरूबीचको मित्रतालाई अझ सुदृढ बनाउने बताएका छन्। साथै, उनले युवा आदानप्रदान कार्यक्रमद्वारा सहभागीहरूलाई संस्कृति, परम्परा र अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरिरहेको उल्लेख गरे।
प्रधानमन्त्री ओलीका अनुसार यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूले सामाजिक, सांस्कृतिक तथा आर्थिक दृष्टिकोणबाट परस्पर समझदारी बढाउँदै आपसी सम्बन्धलाई अझ मजबुत बनाउँछन्। उनले युवाहरूलाई नेतृत्व, अनुशासन र राष्ट्रसेवाको गुण विकसित गर्न यस्तो प्लेटफर्म महत्त्वपूर्ण हुने बताउँदै, भविष्यका सम्मानित, गतिशील र जिम्मेवार नागरिक बन्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।
३४ सदस्यीय एनसिसी टोली फागुन ९ गते नेपाली सेनाको निमन्त्रणामा नेपाल आएको हो। टोली महाशिवरात्रि तथा नेपाली सेनाको २६२ औँ वार्षिक उत्सवमा सहभागी हुने उद्देश्यले नेपाल भ्रमणमा आएको हो।
भेटघाटमा नेपालको राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी यामप्रसाद ढकाल, भारतको एनसिसीका महानिर्देशक गुरवीर पाल सिंह, भूटान स्काउट एसोसिएसनका निर्देशक साङ्गे चोदेन, माल्दिभ्सका प्रतिनिधिमण्डल प्रमुख रिफान अलीलगायत सहभागी ।
युवाहरूलाई अनुशासित, जिम्मेवार, राष्ट्रप्रेमी र प्रभावशाली नेतृत्वकर्ताका रूपमा तयार गर्ने उद्देश्य राखेर एनसिसी कार्यक्रम सञ्चालन हुँदै आएको छ। यसले क्याडेटहरूमा आत्मविश्वास, राष्ट्रसेवा र नेतृत्व क्षमताको विकास गर्ने अवसर प्रदान गर्छ। नेपाली सेनाले मित्रराष्ट्रका सेनाबीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यसहित यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ।
प्रधानमन्त्री ओलीको सम्बोधनले नेपाल र मित्र राष्ट्रहरूबीचको सहकार्यलाई थप प्रगाढ बनाउने मात्र नभई भविष्यका युवाहरूलाई अनुशासन, जिम्मेवारी र नेतृत्व विकास गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।
