काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुलाई कर्जा असुलीमा धरपकड नगर्न राष्ट्र बैंकले निर्देशन गरेको छ । इजाजतपत्र प्राप्त घ वर्गका लघुवित्त संस्थाहरुलाई जारी गरिएको संचालन मार्गदर्शन, २०८१ जारी गर्दै केन्द्रीय बैंकले निक्षेपकर्ता तथा कर्जा सापटी लैजाने सेवाग्राही कसैलाई पनि अभद्र व्यवहार नगर्न लघुवित्त वित्तीय संस्थाहरुलाई मार्गदर्शन जारी गरेको हो ।
कर्जा सम्बन्धी मार्गदर्शन, २०८१ जारी गर्दै केन्द्रीय बैंकले कर्जा असुलीका लागि कुनैपनि किसिमको कडोर विधि अपनाउन र ऋणीलाई गाली बेइजती नगर्न सचेत गराएको छ ।
ऋणीलाई धम्कीपूर्ण वा अपमानजनक भाषा प्रयोग नगर्न चेतावनी दिँदै केन्द्रीय बैंकले यस्ता ऋणीहरुलाई अनावश्यक रुपमा पटकपटक फोन नगर्न समेत भनेको छ ।
यस्तै, ऋणीको परिवार, आफन्त, साथी एवम् सहकर्मीलाई अपमान नगर्न, ऋणी वा परिवारको सम्पत्ति वा मान प्रतिष्ठामा हानि नोक्सानी पुग्ने गरी सिंसाको धम्की नदिन पनि बैंकले सचेत गराएको छ ।
ऋणीलाई ऋण नतिर्दा आउन सक्ने परिणामका बारेमा गलत सूचना निदिने समेत सचेत गराएको केन्द्रीय बैंकले ऋणी र संस्थाको पारस्परिक समझदारीमा तोकिएको स्थान जस्तै, समूह बैठक, कार्यालयमा मात्र कर्जा असुली गर्ने बताउँदै लगातार तीन पटकभन्दा बढी सम्बन्धित ठाउँमा अनुपस्थित भएमा मात्र ऋणीको घर वा कार्यस्थलमा जाने अभ्यासलाई अवलम्बन गर्न लघुवित्त वित्तीय संस्थाहरुलाई सुझाव दिएको छ ।