७ असार, तनहुँ – वृद्धाश्रममा लुकेर बस्दै आएका हत्या आरोपित ‘जोगी’ उपनामले चिनिने लोकबहादुर महत अन्ततः प्रहरी फन्दामा परेका छन्। गत असार ५ गते तनहुँको देवघाट गाउँपालिका–५ स्थित बद्रिमुक्ती टोलमा भएका ३२ वर्षीय प्रकाश पौडेलको हत्यापछि फरार रहेका महतलाई प्रहरीले चितवनबाट पक्राउ गरेको हो।
हत्या घटनामा संलग्न अन्य दुई व्यक्ति पाल्पाको बुद्ध सारु मगर (२८) र मकवानपुरका राम लामा (४२) लाई घटनापछि नै पक्राउ गरिएको थियो। उनीहरूमाथि तनहुँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी अशिष विकका अनुसार फरार अभियुक्त महोत्तरी बर्दिवास नगरपालिका–१ निवासी ४६ वर्षीय महत चितवनको भरतपुर महानगरपालिका–१ स्थित रोटरी क्लबद्वारा सञ्चालित वृद्धाश्रममा आफुलाई वृद्धजस्तो देखाउँदै लुकेका थिए। प्रहरीको विशेष निगरानी र सूचनाका आधारमा उनलाई असार ७ गते पक्राउ गरिएको हो।
आफूलाई समाजबाट टाढा राखेर सुरक्षाको भ्रममा वृद्धाश्रमको आड लिएका महत अब कानुनी प्रक्रिया अन्तर्गत इलाका प्रहरी कार्यालय आबुखैरेनीमार्फत अनुसन्धानको दायरामा ल्याइएका छन्।
प्रहरी स्रोतका अनुसार घटनाको मूल जड मादक पदार्थ सेवनपछि भएको विवाद हो भन्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। घटनाको थप पृष्ठभूमि र उद्देश्यबारे छानबिन भइरहेकाले थप विवरण सार्वजनिक हुने जनाइएको छ।