७ असार, काठमाडौं – नेपाल समाजवादी पार्टी नयाँ शक्ति का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ब्रिटिश गोरखा सैनिकका सन्तानहरूलाई वंशजको आधारमा नागरिकता दिनैपर्ने बताएका छन्। शनिबार ललितपुरमा आयोजित ‘सुगौली सन्धि र नेपालमा नागरिकता’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै डा. भट्टराईले भने, हाम्रा नागरिकलाई विदेशी सेनामा पठाउने, तर वंशजलाई नागरिकताबाट वञ्चित गर्ने? यस्तो अन्याय मान्य हुँदैन। भट्टराईले अन्तर्राष्ट्रिय उदाहरण दिदै वंशजको अधिकार स्वतःसिद्ध हुने बताए। इलन मस्कसग तीनवटा देशको नागरिकता छ, बुबा दक्षिण अफ्रिकी, आमा क्यानडेली, र स्वयं अमेरिका बसोबास। यसले देखाउँछ, वंशजको आधारमा अधिकार स्वभाविक हुन्छ, त्यो जबर्जस्ती खोस्न सकिदैन,उनले भने। हामी आफैंले पठाएका हौं ब्रिटिश सेनामा, सुगौली सन्धीदेखि नै, भट्टराईले स्मरण गरे, त्यही गोरखा सैनिकले पठाएको रेमिट्यान्सले हाम्रो अर्थतन्त्र चलेको हो, अनि आज वंशज भएर नागरिकता दिन इन्कार गर्ने? यस्तो दृष्टिकोण नै अमानवीय हो। पूर्वप्रधानमन्त्री भट्टराईले संविधानको मर्म सम्झाउदै भने, संविधान भन्छ, कसैलाई पनि नागरिकताबाट वञ्चित गर्न पाइँदैन। लोकतन्त्रको आत्मा हो समानता र अधिकार। हामी त्यो आत्मा माथि प्रहार गर्न मिल्दैन। उनले राष्ट्रप्रेमको नाममा ‘भावनात्मक निर्णय’ होइन, वैधानिक र मानवीय निर्णय आवश्यक रहेको बताए। हामी राष्ट्रप्रेमको कुरा गर्छौं, तर आफ्नै नागरिकका वंशजलाई नागरिकता दिन हिच्किचाउँछौं। यो कस्तो न्याय हो? उनले प्रश्न गरे।