७ असार, तनहुँ – यात्रुबाहक सवारीसाधनमा सुरक्षा व्यवस्थाप्रति प्रश्न उठाउने अर्को घटना तनहुँमा सार्वजनिक भएको छ। शनिबार राति पोखराबाट खैरेनीटारतर्फ जादै गरेको बसमा चढेका एक यात्रु लापरबाहीपूर्ण ढंगले खुला राखिएको ढोकाबाट खस्दा घाइते भएका छन्। ना ५ ख ४८६६ नम्बरको बस तनहुँको शुक्लागण्डकी नगरपालिका–५ अन्तर्गत बेलचौताराको मोडमा पुगेको बेला यात्रु अचानक सडकमा खसेका थिए। गाडी तीव्र गतिमा हिडिरहेको र ढोका खुला रहेको अवस्थामा यात्रु असन्तुलित भई खसेको प्रारम्भिक जानकारीमा उल्लेख छ। स्थानीय बासिन्दाले तत्काल उद्धार गरी घाइतेलाई जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, बेलचौतारामा भर्ना गरेका थिए। अस्पताल स्रोतका अनुसार घाइतेको अवस्था हाल सामान्य छ र स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ।