काठमाडौं। सरकारले आज साँझ न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ। कांग्रेस-एमाले गठबन्धनको नेतृत्वमा बनेको सरकारले यो कार्यक्रममार्फत आफ्नो प्राथमिकता र कार्ययोजना स्पष्ट पार्नेछ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा साँझ न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने बताएका हुन्।
राष्ट्रिय शिक्षा दिवसको अवसरमा कागेश्वरी मनोहरा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले शिक्षा ऐन पारित गर्ने विषय न्यूनतम साझा कार्यक्रममा समावेश गरिएको जानकारी गराए। यद्यपि, उनले संसदको वर्तमान गतिले ऐन पारित हुन अझै दुईदेखि ढाई वर्ष लाग्न सक्ने अनुमान व्यक्त गरे।
न्यूनतम साझा कार्यक्रमको मस्यौदाका लागि यसअघि चार सदस्यीय कार्यदल गठन गरिएको थियो, जसमा महामन्त्री थापा, कांग्रेस प्रवक्ता प्रकाशशरण महत, एमाले उपमहासचिवद्वय प्रदीपकुमार ज्ञवाली र विष्णु रिमाल सदस्य रहेका छन्।
थापाले शिक्षा ऐनको बाँकी काम छिटो सम्पन्न गर्न दलगत रूपमा समूह बनाएर काम गर्नुपर्ने बताए। “दसैं-तिहार नहेरी निरन्तर काम गरे मात्र शिक्षा ऐन छिट्टै पारित गर्न सम्भव हुन्छ,” उनले भने।
सरकारले न्यूनतम साझा कार्यक्रममार्फत शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै ऐन पारित गर्ने ठोस योजना अघि सारेको बताइएको छ।